काठमाडौं, बैशाख ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरेका छन् । कञ्चनपुरको टीकापुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने, ‘कांग्रेसले प्रतिपक्षी भूमिका राम्रोसँग निभाएको छ । हामीले प्रतिपक्षको भूमिकामा निभाउदा आगो लगाउने, रेलिङ भाँच्ने काम गरेको छैन । त्यो हामीबाट हुँदैन पनि ।
साथै वर्तमान सरकारलाई आगामी चुनावबाटै कांग्रेसले प्रतिस्थापन गर्ने सभापति देउवाले जिकिर गरेका छन् । सरकारले वर्षदिनमा एउटा पनि गतिलो काम नगरेको उनको भनाइ छ । उनले सरकारले देश र जनताका हितमा काम गर्न नसके बहुमतको दम्भले मात्रै केहि नचल्ने बताएका छन् ।
देउवाले पार्टीभित्रको गुट, उपगुट महाधिवेशनबाट अन्त्य हुने समेत जानकारी गराएका छन् । पार्टीभित्र नेतृत्वप्रति आलोचना हुने गरेको र गुट, उपगुट रहेकोप्रति संकेत गर्दै देउवाले १४ औं महाधिवेशनबाट गुट अन्त्य हुने बताएका छन् ।
सभापति देउवाले पार्टी अधिवेशनको मुखमा आफ्नाविरुद्ध गलत प्रचारबाजी भरहेको प्रस्ट्याएका छन् । उनले आफ्नै ‘पार्टीका साथीहरुले पनि काँग्रेसले गरेको कामको प्रचार भन्दा पनि व्यक्ति विशेष विरोध गर्दै हिडेको आरोप लगाएका छन् ।
पार्टी एकता र गुट अन्त्यका लागि आफुले हरतरहले कोशिष गर्दै आएको बताउँदै उनले भने, पार्टी एक ठिकका हुनु आजको आवश्यकता हो । मेरा केहि कमी भए आउनुहोस् बसेर छलफल गरौं, मेरो आग्रह छ , मेरो विरोध गर्दै गर्दा पार्टीलाई क्षति हुने कुराको ख्याल राखिदिनुस् । उनले भनेका छन्, मेरोविरुद्धमा बोल्न छुट छ । पार्टीको सभापतिमा चुनाव लड्न पनि सबैलाई छुट छ ।’ कोहि कसैले अनावश्यक कुराको विरोध गर्नुको साटो संगठन गर्नु उत्तम हुने उनको भनाई छ ।
सभापति देउवाले पर्टीभित्रको गुटबन्दी अन्त्य गरेर विश्राम लिने भन्दै आगामी पार्टी महाधिवेशनले आन्तरिक गुटबन्दीको अन्त्य गर्ने सभापति देउवाले जनाएका छन् । नेपाल विद्यार्थी संघले छिटै नेतृत्व पाउने समेत उनले जानकारी गराएका छन् । सभापति देउवाले तरुण दललगायत भातृ संगठनलाई पनि सुधार गरिने बताएका छन् । तरुण दलले लामो समयसम्म पनि पदाधिकारी पूर्णता दिन सकेको छैन ।
पार्टीले बैशाख ११ गतेबाट थालनी गर्न लागेको राष्ट्रिय जागरण अभियानलाई सफल पार्नका लागि सभापति देउवाले पार्टी पंतिलाई निर्देशन दिएका छन् । टीकापुरमा आपसी मेलमिलापको अवस्था विकास भएको प्रति खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिन उनले सबैको सहयोगको खाँचो औंल्याएका छन् ।