आर्थिक

ओखलढुङ्गाको व्यापारिक महोत्सवबाट अठार करोड आम्दानी

By Bala Adhikari

April 24, 2019

ओखलढुङ्गा, वैशाख ११। प्राकृतिक सौंन्र्दयताले भरिपूर्ण ओखलढुङ्गामा आन्तरीक तथा वाह्य पर्यटकको चाप केहि समय यता निकै बढेको पाइन्छ । सर्वोच्च शिखर सगरमाथाको फेदिमा पर्ने सो जिल्लामा पुग्न लालायित हुनेहरु प्रशस्तै पाइन्छन् ।  ओखलढुङ्गाको पर्यटन विकासलाई कसरी वढवा दिन सकिन्छ भन्नेमा नै सो जिल्लाको जिम्मेवार व्यक्तिहरुको ध्येय केन्द्रित भएको पाइन्छ ।

ओखलढुङ्गामा सम्पन्न औद्योगिक महोत्सवले रु १८ करोड आम्दानी गरेको जनाइएको छ । गत चैत ३० गतेबाट शुरु भएको ओखलढुङ्गा महोत्सव मङ्गलबार अबेर सकिएको छ । महोत्सवमा स्थानीय जातजातिको वेषभूषा, तामा र फलामका भाडा, ऊनबाट उत्पादित राडी, लम्पट, कृषिजन्य वस्तु, उन्नत जातका पशुवस्तुलगायत विशेष आकर्षणको रुपमा राखिएको थियो । उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने महोत्सवमा विभिन्न शीर्षकमा रु १८ करोड रकम उठाएको जानकारी गराइएको हो ।

पहिलोपटक जिल्लामा आयोजना गरिएको औद्योगिक महोत्सवमा रु १८ करोडको कारोबार भएको संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताएका छन् । जिल्ला सदरमुकाम बजार क्षेत्रमा पहिलोपटक प्याराग्लाइडिङको उडानसमेत गरिएको थियो । महोत्सवमा दैनिक कलाकारको साङ्गीतिक प्रस्तुति प्रदर्शन लगाएतका अन्य गतिविधीहरु समेत गरिएको थियो ।

ओखलढुङ्गाको पर्यटन प्रर्वदन र समग्र विकासका लागि यस्ता खाले महोत्सवले निकै लाभ दिलाएको छ । स्थानिय उत्पादनले राम्रो बजार पाउनुका साथै सो स्थानका वासिन्दाले केहि हद सम्म लाभ लिने अवसर समेत मिलेको स्थानिय बताउँछन् ।