खेलकुद

मलेशियालाई पराजित गर्दै नेपालद्वारा जित हासिल

By Bala Adhikari

April 24, 2019

काठमाडौँ, वैशाख ११ । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा मलेशियालाई पराजित गर्दै नेपालले जित हासिल गरेको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो ।

नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा म्यान्मालाई सात विकेटले पराजित गरेको थियो । जितसँगै समूह ए मा रहेको नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ । नेपाल साविक विजेतासमेत हो । अघिल्लो संस्करणको खेलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि हासिल गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई जितका लािग १४२ रनको लक्ष्य दिएको थियो ।

जवाफमा मलेशिया ३३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो । मलेशियाका लागि सार्भिन सुरेद्रनले सर्वाधिक ४६ रनको योगदान दिए भने अमहेद अस्यार्फले १७ तथा किशन कुमारले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । मलेशियालाई १०२ रनमा समेट्ने क्रममा नेपालका रमेश कुर्मी, तिलकराज भण्डारी र प्रशान्त महतले दुई÷दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १४१ रन जोडेको थियो । नेपालका लागि आशिष भट्टराईले सर्वा्धिक ३४ रनको योगदान दिए । त्यस्तै विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷१६ र सुवास ऐरले ११ रन जोडेका थिऐ । बलिङतर्फ मलेशियाका सिद्धार्थ कार्तिकले चार तथा लुकम्यान नुर हाकिम सहरले दुई विकेट झारे ।