जिल्ला-विशेष

वन्यजन्तुमा परेको असरबारे अध्ययन गर्न अत्याधुनिक क्यामेरा जडान

By Bala Adhikari

August 09, 2017

चितवन, साउन २५ । चितवन रत्ननगरको टिकौली जंगलस्थित जैविक मार्ग क्षेत्रमा क्यामेरा जडान गरी वन्यजन्तुमा परेको असरबारे अनुगमन शुरु गरिएको छ ।

चितवनका विभिन्न स्थानमा अत्याधुनिक प्रविधियुक्त क्यामरा जडान गरी अनुगमन शुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिए । उनका अनुसार राजमार्गको वरिपरि वन्यजन्तु तलमाथि गरिरहँदा कस्तो खालको असर परेको छ भनेर अध्ययन गर्न ट्रापिङ–विधिको क्यामरा प्रयोग गरिएको बताए । टिकौली जंगलको जैविक मार्ग भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा भागमा रहेको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अवस्था, मानवीय र सवारी चापका कारण परेको असरबारे अध्ययन गरिने डा पोखरेलले जनाए । उक्त स्थानमा १६ वटा स्थानमा ३२ वटा अत्याधुनिक क्यामरा जडान गरी अनुगमनको कार्य सुरु गरेको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बरण्डाभार क्षेत्रमा बाघको उपस्थितिबारे अनुगमन गरिएको भए पनि सडकलाई नै केन्द्रित गरेर क्यामरा ट्र्यापिङबाट अनुगमन भएको यो पहिलो हो भने । यसले यहाँको वास्तविक अवस्थाको चित्रण गर्ने र पछि संरक्षणका योजना बनाउन सहयोग मिल्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला वन कार्यालय तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । जैविक मार्ग हुँदै चितवन निकुञ्जका दुर्लभ र संरक्षित वन्यजन्तु बाघ, हात्ती, गैँडा, भालु, चित्तल चुरे पर्वत र महाभारत पर्वत क्षेत्रका वनमा आवतजावत गर्ने करिडोर टिकौली जंगल हो । यसरी आवतजावतका क्रममा सवारीको ठक्करबाट वर्षेनी वन्यजन्तु मर्ने गरेका छन् । सो क्षेत्रमा हिँड्ने वन्यजन्तुको सुरक्षामा चुनौती थपिएपछि अहिले सो स्थानहरुमा अस्थायी सुरक्षा चौकी स्थापना गरेर गाडी रोक्नसमेत निषेध गरिएको छ ।