काठमाडौँ, वैशाख १५ । अन्तर्रा्ष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपालका युवा खेलाडी प्रिन्स दाहालले रजत पदक हाँसिल गरेका छन् । आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्रा्ष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले थाइल्याण्डको राजधानी बैङ्ककमा ब्वाइज यू–१७ तर्फ रजत पाएका हुन् ।
फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग २–० सेटले पराजित भएका थिए । उनले पहिलो सेट १५–२१ अङ्कले तथा दोस्रो सेट १३–२१ अङकले गुमाएको बैङ्ककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले बताएका छन् । भारतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा यसअघि शनिबार भएको सेमिफाइनलमा प्रिन्सले हराएका थिए ।
उनले २१–९ र २१–१३ अङ्कले उक्त खेल जित्दै फाइनमा स्थान बनाएका थिए । विभिन्न उमेर समूहको उक्त प्रतियोगितामा २२ देशका खेलाडीको सहभागिता रहेको छ ।
गत वर्ष असोजमा प्रिन्सले युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेशनल सिरिज’अन्तर्गत पुरुष यू–१५ मा इन्डोनेशियका खेलाडीलाई पराजित गरी उपाधि समेत जितेका थिए ।
अन्तर्रा्ष्ट्रिय ब्याडमिन्टन प्रतियोगितमा नेपाली खेलाडीले पाएको यो नै अहिलेसम्मको ठूलो सफलता हो । उक्त प्रतियोगितामा भारत, पाकिस्तान, युएई, साउदी अरब, इन्डोनेशिया, स्विडेन, बेलायत, केन्या, इजिप्ट, बहराइन र अल्जेरियाका खेलाडी सहभागी रहेका थिए ।