कभर स्टोरी

ऐन संशोधनपछि आयोग गठन गर्न माग गर्दै प्रदर्शन

By Bala Adhikari

April 29, 2019

काठमाडौं, वैशाख १६ । विगतको द्वन्द्वका घटनालाई सर्बोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुप ऐन संशोधन गरेपछि मात्रै सत्य र बेपत्ता सम्बन्धी आयोगका पदाधिकारीहरु चयन गर्न माग गर्दै द्वन्द्वपीडित र अधिकारकर्मीहरुको समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

पीडितहरुका विद्यमान् बेपत्ता पारिएका व्यक्तिको छाननवीन, सत्य निरुपण तथा मेलमिलाप ऐन स्वीकार्य ढंगले संशोधन नभइकन बनाइने आयोगको हालत हिजोकै हुने तथ्य घामझै छर्लङ्ग हुदाहुदैं दुइतिहाइको दम्भमा ऐन संशोधनका कुनै प्रक्रियासम्म शुरुवात् नगरी सरकारले दलीय आधारमा गठन गरेको सिफारिस समितिले आयोग गठनको प्रक्रिया अगाडि बढाइरहेकोमा उनीहरुले विरोध गरेका हुन् ।

सर्वोच्च अदालतको फैसला बमोजिम तत्काल आयोग ऐन संशोधन गरेर मात्र आयोग गठन गर्न सरकार एवं सिफारिस समितिलाई खवरदारी गर्नका प्रदर्शन गरिएको समेत जनाइएको छ । आयोेग गठनका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित आयोगले पहिलो चरणमा इच्छुक व्यक्तिहरुसँग आवेदन माग गरेकोमा ५० जना भन्दा बढी व्यक्तिले आवेदन गरिसकेको जानकारी गराइएको छ ।

सो विवरण सार्वजनिक गर्नुपर्ने कार्यविधि सिफारिस समितिले बनाएको भएपनि त्यो सार्वजनिक हुन भने बाँकी रहेको छ । तर, पीडित र अधिकारकर्मीको समुदाय तथा विभिन्न दातृ निकायले विद्यमान ऐन संशोधन गर्न माग गर्दै आएका छन् ।