कभर स्टोरी

संघीय संसदको चौथो अधिवेशन शुरु हुँदै : नेपाली कांग्रेसका तीन नेताको शोक प्रस्ताव पारित गरिने

By Bala Adhikari

April 29, 2019

काठमाडौँ, वैशाख १६ । बजेट अधिवेशनसमेत भनिने सङ्घीय संसद्को चाँैथो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दिउँसो ४ बजे सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको हो ।

आज दुवै सदनका बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाइने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जानकारी गराएको छ । त्यस्तै विसं २०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको समानुपातिक तर्फबाट निर्वाचित सदस्य दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा गत चैत २६ गते निधन भएकोमा उनको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यसैगरी बैठकमा विसं २०४८ मा कांग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा रुद्रमणिशर्मा भण्डारीको ७२ वर्षको उमेरमा गत चैत्र २८ गते निधन भएकामा उनको निधनप्रति पनि शोक प्रस्ताव पारित गरिने जनाइएको छ ।

त्यस्तै विसं २०४८ र २०५६ मा कांग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वा्चित सदय, स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिलगायत मन्त्रालयको जिम्मेवारी सम्हालेका शालिन, भद्र र समाजवादी नेता रामकृष्ण ताम्राकारको यही वैशाख १० गते ७६ वर्षको उमेरमा निधन भएकामा उनको निधनप्रति पनि शोक प्रस्ताव पारित गरिने सचिवालयले जानकारी गराएको छ ।