कभर स्टोरी

सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढ्यो : नेता सिंह

By Bala Adhikari

April 30, 2019

संखुवासभा वैशाख १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषि भए पनि कारबाही हुनुपर्ने औंल्याएका छन् ।

प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रमलाई सम्बोधन गर्दै बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगमा उनले कांग्रेसका नेता होउन् या अरु कुनै पार्टीका होउन् यसको निष्पक्ष तवरले छानविन गरेर कानुन बमोजिम दण्ड सजायँ दिनुपर्ने बताएका छन् ।

कांग्रेस नेतालाई वेला वेला वदनाम गर्नकै लागि विवादमा तानिएको र कांग्रेस नेताहरुको यस्ता कुरामा संलग्नता नहुने गरेको उनको भनाई रहेको छ । उनले कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको दावीसमेत गरेका छन् । नेता सिंहले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको आरोप लगाएका छन् ।

सरकारसँग दुई तिहाई बहुमत रहेको, संविधान केही होइन भन्ने भाव बोकेको, कानुनलाई खरिद विक्री गर्न सकिन्छ कानुन त केही होइन लगाएतको मनसाय बोकि रवैया देखाइरहेको उनले आरोप लगाएका छन् । उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरेका छन् ।

नेता सिंहले सरकारले आफ्नो असक्षमतालाई ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेसले सुरु गर्न राष्ट्रिय जागरण अभियान कांग्रेस नेता सिंह पूर्वी नेपालका जिल्ला भ्रमणमा छन् ।

केन्द्रीय सदस्य बलबहादुर केसी सरिता प्रसाईंसहित आधादर्जन पूर्व सांसद र आधा दर्जन जिल्ला सभापतिसहित सिंह दुई दिनदेखि संखुवासभा जिल्लाका कार्यक्रममा व्यस्त छन् । उनले सोमबार निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनको स्थलगत निरीक्षण समेत गरेका थिए ।