कभर स्टोरी

एन्फा एकेडेमीका लागि छनोट भए ८१ खेलाडी

By Bala Adhikari

May 01, 2019

काठमाडौँ, वैशाख १८ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो ।

मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडीको सूची तयार पारेको हो । एन्फाले छनोट गरेका ८१ खेलाडीको मेडिकल परीक्षण गर्ने जनाइएको छ । मेडिकलपछि एन्फाले एकेडेमीका लागि ५० जना खेलाडी छनोट गर्ने भएको छ ।

छनोट भएका खेलाडीलाई एन्फाले बुटवल र धरानको एकेडेमी राखेर पढाइका साथै फुटबल प्रशिक्षण दिने एन्फा प्रवक्ता किरण राईले बताएका छन् । यस्तै यसै छनोटबाट आएका यू–१६ खेलाडीले एशियाली फुटबल महासंघ (एएफसी) यू–१६ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने एन्फाले जानकारी गराइएको छ ।

छनोट हुने खेलाडीमा विक्रम गौतम, विजय राज शाही, विश्वास ओझा, दीपक थापामगर, विपिन थापा, अनिल खड्का, अजय लामा, मनोज खुलाल, सुमन भेटवाल, रोनिक रानामगर, सुजल घलेलगायत ८१ जना रहेका छन् ।