कभर स्टोरी

काभ्रेका एक युवकको बर्डफ्लुद्वारा मृत्यु

By Bala Adhikari

May 02, 2019

काठमाडौँ, वैशाख १९ । बर्डफ्लुबाट काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको जानकारी पाइएको छ ।

मृतकलाई इन्फ्लुएन्जा रोगको सङ्क्रमण भएको आशङ्कामा त्यसको यकिन गर्न नमूना परीक्षणका निम्ति जापान पठाइएको र त्यसको परिणाम यही वैशाख १७ गते प्राप्त भएको बताउँदै मन्त्रालयले उनको निधन बर्डफ्लुबाटै भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको प्रावधानानुसार सो सम्बन्धमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय काठमाडौँस्थित विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालय तथा नेपाल देशीय कार्यालयलगायत निकायसँग सहकार्य थालेको मन्त्रालयले बताएको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी सो रोगको सङ्क्रमण फैलिन नदिन निगरानी बढाउनाका साथै त्यसको विस्तृत अध्ययन थालिसकेको स्पष्ट पारेको छ । बर्डफ्लुका लक्षणबारे सर्वसाधारणमा सूचनामूलक सामग्री प्रवाह गरिरहेको बताउँदै उक्त रोगबाट उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, मांशपेसी दुख्ने, प्रारम्भमा पेट र छाती दुख्ने र पखालासमेत लाग्न सक्ने मन्त्रालयले बताउँदै स्पष्ट पारेको छ । सो रोगको सङ्क्रमण द्रुतगतिमा फैलिएर श्वास फेर्न कठिन हुने, निमोनिया र दमका लक्षण देखिने समेत बताइएको छ । नेपालीको स्वदेशमै मृत्यु भएको मन्त्रालयका अनुसार यो पहिलो घटना हो ।