कभर स्टोरी

मेलम्ची खानेपानी परियोजना निर्धारित समयमा सम्पन्न गर्न प्रम देउवाको निर्देशन

By Bala Adhikari

August 09, 2017

सिन्धुपाल्चोक, साउन २५ । मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

आयोगको स्थलगत निरीक्षणका क्रममा उनले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिए । यसको लागि सरकारले के सहयोग सहयोग गर्नुपर्ने हो ती सहयोग गर्न तयार रहेको पनि उनले जनाए । काठमाडौँ उपत्यका नेपालको राजधानी मात्र नभई महत्वपूर्ण ठाउँ भएकाले यहाँ शुद्ध खानेपानीको आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले काठमाडौँवासीले जतिसक्दो चाँडो खानेपानी पाउनुपर्ने कुरामा जोड दिए । उनले विभिन्न समस्याका बाबजुद पनि नेपालको अति महत्वपूर्ण परियोजनामा प्रगति भएको सुन्न पाउँदा आफूलाई खुशी लागेको बताए ।

कूल साढे २७ किमी सुरुङसहितको मेलम्ची खानेपानी परियोजना आगामी पुस महिनाभित्र निर्माण भइसक्ने गरी तीव्र गतिमा काम भइरहेको छ । अब दुई दशमलव १९ किमीमात्र सुरुङ खन्न बाँकी रहेको छ । हाल चार स्थानबाट सुरुङ खनिरहेको परियोजनाले दैनिक सरदर ९५ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ ।

सन् २००१ बाट परियोजना निर्माण शुरु भएको हो । सोह्र मिटर सुरुङ खन्ने काम भइरहेको छ । चार स्थानबाट सुरुङ खनिरहेको मध्ये तीन स्थानमा कमजोर भौगर्भिक कारण सुरुङ खन्न केही चुनौती देखिएको आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिए । कूल साढे २३ अर्ब लागत भएको उक्त परियोजनामा २२ अर्ब ३४ करोड खर्च भइसकेको परियोजनाका प्रमुख देवकोटाले जानकारी दिए । आयोजना निर्माण सन् २०१८ मार्चसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।

प्रधानमन्त्रीको स्थलगत निरीक्षणका क्रममा उनलाई आयोजना प्रमुख देवकोटाले आयोजनाको कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए । सो अवसरमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव र सचिव भीमप्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।