भरतपुर, वैशाख २९ । रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको थियो ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले पत्रकारहरुसँग कुराकानी गर्दै रकम उठ्न सकेमा पुस महीनासम्ममा मैदानको काम सम्पन्न गरी खेल खेल्न सकिने जानकारी गराएका छन् । कामलाई तीव्रता दिन जेठ मसान्तसम्ममा रु ३० करोड आवश्यक पर्ने भन्दै चितवन जिल्लावासी आर्थिक सङ्कलन अभियानमा जुट्नुपर्नेमा जोड दिएका छन् । हालसम्म रु ६ करोड ५० लाख मात्र बोलिएको छ । सबै रकम उठिसकेको छैन ।
भदौ महीनामा औपचारिक शिलान्यास गर्नका लागि आवश्यक कच्चापदार्थ जम्मा गर्ने काम भइरहेको छ । उनका अनुसार रङ्गशाला क्षेत्रलाई टिनले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवास गृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायत आवश्यक संरचना निर्माण भइसकेको छ । मैदान बनाउनका लागि काठमाडौँका दुई स्थानबाट परीक्षण गरी माटो ल्याइएको छ भने तनहुँबाट पनि माटो ल्याउने तयारी भइरहेको उनले बताए । मैदानसँगै दुबो रोप्नका लागि ब्याडमा दुबो हुर्काउने काम शुरु गरिएको कट्टेलले जानकारी गराएका छन् ।
पहिलो चरणमा मैदान तयार गरी प्याराफिट र अन्य काम अघि बढाउने तयारी गरिएको छ । कट्टेलले अन्तर्राष्ट्रियस्तरको र पूर्वअभ्यासका लागि एउटा÷एउटा खेलमैदान निर्माण गरिने प्रस्ट्याएका छन् । उनले गुरुयोजना तयार गरी नक्साङ्कनको काम तीव्र गतिमा अघि बढाइएको जानकारी गराएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अघि बढाइएको उनको भनाई छ । उनका अनुसार क्रिकेटबाहेक अन्य खेलको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ भने क्रिकेटको प्रतिवेदन निर्माणको काम भइरहेको छ ।
आउँदो ३० वर्षपछि हुने प्रविधि अहिले नै प्रयोग गरेर नक्साङ्कनको काम भइरहेको उनले बताएका छन् । यसका लागि नेपालीसँगै विदेशी विज्ञहरुले पनि काम गरिरहेका छन् । कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु हुने क्रममा रहेको जानकारी गराउँदै कतिपय जिल्लामा सहयोग समिति बनेर रकम सङ्कलन हुन थालेको समेत प्रष्ट पारेका छन् । चितवनमा जिल्ला, महानगर, नगर, गाउँपालिका र वडास्तरीय सँगै विभिन्न सरोकारवाला निकायको छुट्टाछुट्टै समिति निर्माण गरी आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिइने उनले सुनाए ।
बहुउपोगी रङ्गशला निर्माणमा रु तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जानकारी गराउँदै आएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिनेछ । त्रिभुवन विश्वविद्यालयको नाममा रामपुरमा रहेको २० बिघा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशालालाई खेलकूद विश्वविद्यालयका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।