काठमाडौं, जेष्ठ २ । मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीको आयोजनामा भोलिदेखि १५ दिनसम्म हुने भएको छ ।
आयोजक समितिका संयोजक प्रविण ज्ञवालीले काठमाडौँ विश्वविद्यालय धुलिखेलको खेल मैदानमा नकआउटका आधारमा हुन लागेको सो प्रतियोगितामा विभिन्न जिल्लाका गरी २४ वटा समूहले नाम दर्ता गरिसकेको बताउका छन् । “हामीले आह्वान गरेको हिजोसम्मको समय सीमा भित्रमा २४ वटा समूहले नाम दर्ता गरिसकेका छन् । नाम दर्ताका लागि प्रति समूह १० हजार शुल्क निर्धारण गरिएको संयोजक ज्ञवालीले बताएका छन् ।”
प्रतियोगितामा विजयी समूहले नगद रु ५० हजार र उपविजेताले रु ३० हजार पाउने आयोजकले जानकारी गराएको छ । ज्ञवालीले प्रतियोगिताका लागि रु १५ लाख २१ हजार खर्च लाग्ने अनुमान गरिएको समेत बताए ।
यसरी आयोजना गरिएको प्रतियोगिता दोस्रो पटकको हो । गत वर्षमा गरेको पहिलो प्रतियोगितामा १६ वटा समूहले भाग लिएका थिए ।