कभर स्टोरी

डा केसीको समर्थनमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

By Bala Adhikari

August 11, 2017

काठमाडौँ, साउन २७ । १९ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतको माग सम्बोधनका लागि दबाब दिँदै आज सरकारी चिकित्सक संघले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।

डा केसीका माग सम्बोधन गरिनुपर्ने भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । बिहीबार बसेरको बैठकले आजदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका कुनै पनि सेवामा संलग्न नहुने निर्णय गरेको हो । संघले यसअघि चरणबद्ध आन्दोलन गर्दै आएको छ । अस्पतालमा हुने बिरामी र भर्ना भएर बसेका बिरामीको उपचारका निम्ती अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाई सेवा प्रदान गराउने संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

राज्यले विगतका दिनमा औपचारिकताका लागि छिटफुट वार्ता गरेपनि डा केसीका माग पूरा गर्न उदासीनता देखाएको आरोप संघले लगाएको छ । संघको निर्णयबाट उत्पन्न हुने असहजताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने संघले विज्ञप्तिमा उल्लेख गरेको छ । संघले डा केसीको समर्थनमा सरकारलाई दबाब दिन देशभरका आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरेको हो ।