प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीयताको सवालमा सरकारले ज्यादै लापरवाही गर्दै आएको आरोप लगाएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको बताएका छन् ।
शासकहरु केन्द्रीकृत मानसिकतामा देखिएकाले संघीयतामा आँच आउने स्थिति आएको उनको भनाई थियो । आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू सधै तल्लिन रहेको उनको धारणा थियो ।
सोही कार्यक्रममा नेता पौडेलले एघार महीनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले सोही ठाउँबाट अनुसन्धान गर्न माग गरेका छन् ।
हत्यारा पत्ता नलाग्नु गम्भीर विषय भएको बताउँदै उनले भने, अपराधी जोसुकै भए पनि कठघरामा उभ्याउनुपर्छ । नेता पौडेलले बिहीबार बिहानै हत्या गरिएकी बालिका पन्तको घर पुगेर उनकी आमा दुर्गादेवीसँग भेट गरेका थिए ।