कभर स्टोरी

नेपालमा नै पढेर गुणवान् नागरिक बन्नुपर्नेमा जोड

By Bala Adhikari

May 23, 2019

प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गरेका छन् । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीपन, राष्ट्रियता, विविधता र हाम्रो देशका आवश्यकताको पहिचान गरी स्वदेशकै सेवा गर्न नेपालमा नै पढेर गुणवान् नागरिक बन्नुपर्नेमा धारणा राखेका छन् ।

प्रधानमन्त्री ओलीले निजी शिक्षालयलाई बन्द नगराई नियमन गर्ने सरकारको नीति हुने र सामुदायिक क्षेत्रको स्तर माथि उकासेर निजीलाई स्वतः बन्द हुने खतरामा पु¥याउने उल्लेख गर्दै निजी क्षेत्रको लगानीलाई सुरक्षित र प्रोत्साहितसमेत गरिने जानकारी गराएका छन् । राज्यले शिक्षामा लगानी गरेको बताउँदै उनले भने, तर यो लगानी पर्याप्त छैन । त्यस अर्थमा निजी शिक्षा क्षेत्रलाई लगानी रोकेर स्वदेशको पूँजी पलायन गराउने भन्ने हुँदैन । निजी र सामुदायिक दुवै शिक्षालय मिलेर उत्कृष्ट शिक्षाको वातवरण र प्रविधि निर्माण हुँदै समृद्धिमा लाग्नुपर्छ ।

नेपाली विद्यार्थी बाहिर नजाने वातावरणका लागि निजी क्षेत्रको घाँटी निमोठ्ने काम नहुँने उनले बताएका छन् । देश विकासको अगुवाइ निजी क्षेत्रले गर्नुपर्ने उनको भनाई छ । उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षा नेपालमै दिन सकिने वातावरणका लागि सरकारले उचित सहयोग गर्ने बताउँदै निजी शिक्षालयले सेवाको भावना राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् । चारदिने मेलाका संयोजक युवराज शर्माले २०६९ सालदेखि आयोजना गरिँदै आएको मेलामा स्वदेशका उच्च शिक्षाका उत्कृष्ट संस्थाका अनुभव आदानप्रदान हुने जानकारी गराएका थिए ।