कभर स्टोरी

पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराई दिन माग

By Bala Adhikari

May 27, 2019

काठमाडौं, जेष्ठ १३ । नेपाल पत्रकार महासङ्घका पदाधिकारीले प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाको बारेमा रसुवाका पत्रकारसँग आइतबार धुञ्चेमा भेटघाट गरी आइपरेका समस्या र समाधानका विषयमा छलफल गरेका छन् ।

यहाँ कार्यरत पत्रकारले नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीको उपस्थितिमा भएको सञ्चार क्षेत्रको समस्या र समाधान विषयक छलफल कार्यक्रममा भौगोलिक विकटताका कारण समाचार सङ्कलनमा अझै चुनौती रहेको भन्दै निर्धा्रित पारिश्रमिक उपलब्ध गराई दिन माग राखेका थिए ।

छलफल कार्यक्रममा सहभागी गोसाइँकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष दावासिदार वाइबालगायत राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, शिक्षकले रसुवामा क्रियाशील सबै पत्रकार लगनशील भई काम गरिरहेको प्रतिक्रिया दिएका थिए ।

रसुवाका पत्रकारले गत भदौ ३० गते नेपाल राजपत्रमा निर्धा्रित पारिश्रमिक उपलब्ध गराउने व्यवस्थाका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पराजुलीसमक्ष माग राखेका थिए । विकास र समृद्ध नेपाल बनाउने कार्यमा सहज पार्न पत्रकार जगत्ले निरन्तर कलम चलाउन अनुरोध गर्दै नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सबै पत्रकारको हितमा महासङ्घ निरन्तर रूपमा अगाडि बढ्ने स्पष्ट पारेका थिए ।

स्थानीयस्तरमा सञ्चालित रेडियो एफएमलगायत पत्रपत्रिकालाई सबल र सक्षम पार्न सबै खालको विज्ञापन स्थानीयस्तरमै दिनुपर्नेमा अध्यक्ष आचार्यले जोड दिए । उक्त शाखाका जिल्ला सभापति हेमनाथ खतिवडाले नेपाल पत्रकार महासङ्घ रसुवा शाखाले आयोजना गरेको छलफल कार्यक्रममार्फत् केन्द्रीय नेतृत्वसमक्ष आफ्ना दुःखसुुख पोख्न पाउँदा यहाँका पत्रकार अत्यन्तै उत्साहित भएको जानकारी गराए ।