कभर स्टोरी

आंशिकदेखि सामान्य बदली भइ मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

By Bala Adhikari

May 29, 2019

काठमाडौँ, जेठ १५ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी गराएको छ । मौसमविद् सुजन सुवेदीले न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना भएको बताएका छन् । उनका अनुसार तत्काललाई भारी वर्षाको सम्भावना भने छैन ।

मौसमविद् सुवेदीले केही दिन निरन्तर वर्षा र केही दिन चर्काे घाम तथा बेलुकीपख हल्का हावाहुरीसहित वर्षा भइरहने बताएका छन् ।

उनले मनसुन न्यून चापीय रेखा माथितिर (नेपालको भू–भागमा ) प्रवेश गर्दा मनसुन सक्रिय भई वर्षा हुने र मनसुन न्यून चापीय रेखा दक्षिणततर्फ (भारतको भू–भागमा) जाँदा वर्षा कम भई घाम लाग्ने जानकारी गराएका छन् । मौसम पूर्वानुमान महाशाखाले राति देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

भोलि देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्यपहाडी भू–भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशका पूर्वी तथा मध्यभागहरुमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागका केही र पश्चिम पहाडी भेगका केही स्थानमा हावाहुरी, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ७ डिग्री र अधिकतम तापक्रम ३२ दशमलव शून्य डिग्री सेल्सियस रहेको महाशाखाको पछिल्लो विवरणअनुसार बताइएको छ । त्यस्तै आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।