कभर स्टोरी

बैठकमा मुख्यमन्त्री राईद्वारा योजना छनोट गर्दा स्पष्ट हुनुपर्नेमा जोड

By Bala Adhikari

May 31, 2019

विराटनगर, जेष्ठ १७ । प्रदेश तथा स्थानीय तहको सहकार्यलाई प्रदेश समन्वय परिषद्को दोस्रो बैठकले बलियो बनाउनुपर्नेमा जोड दिएको छ । आज यहाँ आयोजित उक्त बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत भएका योजनालाई दोहोरिन नदिने र राष्ट्रिय योजना आयोगले तयार पारेको आधारपत्रसँग प्रदेश तथा स्थानीय तहको तालमेल गराउन सके विकासले गति लिनसक्ने सहभागीहरूले जानकारी गराएका छन् ।

बैठक शुभारम्भ गर्दै मुख्यमन्त्री शेरधन राईले विकासका योजना छनोट गर्दा त्यसबारे स्पष्ट हुनुपर्ने बताएका छन् । मझौला योजना प्रदेशले र साना योजना स्थानीय तहले छनोट गर्नुपर्ने ठूलो योजना सङ्घले, स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा पूर्वाधार विकासका निम्ति बजेट खर्च गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने र अनियमिततालाई शून्यमा ओराल्नुपर्ने समेत बताए ।

मुख्यमन्त्री राईले सङ्घ, प्रदेश र स्थानीय तहले बजेट सार्वजनिक गर्दा समयको तालमेल मिलाउनुपर्ने सुझाव दिँदैसरकारको प्राथमिकतामा पर्ने कृषि, पर्यटन, भौतिक पूर्वाधार विस्तार र रोजगारी सिर्जनाका क्षेत्रलाई बजेटमा समेट्न खोजिएको समेत बताए । उनले स्थानीय तहबाट आएका योजनाका चाङलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे ध्यान दिन आग्रह समेत गरेका छन् ।

प्रदेश नं १ का सबै स्थानीय तहका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका संयोजकहरुबीच समूहमा छलफल गराएर ठोस निष्कर्ष निकालिने प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी र आर्थिक मामिला तथा योजना सचिव जीवन सिटौलाले प्रस्तुत गर्ने योजनासम्बन्धी कार्यपत्रमा पेश गरिने भएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल र मन्त्रालयका सचिवहरु एवं उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।