कभर स्टोरी

जोन्छे स्मृति प्रतिष्ठानको सातौँ वार्षिक स्मृतिसभा सम्पन्न

By Bala Adhikari

June 07, 2019

भक्तपुर, जेठ २४ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले देशमा लोकतन्त्रको प्राप्तिपछि पनि जनताले खोजेको उपलब्धि अझै हासिल हुन नसकेको बताएका छन् ।

आज सूर्यविनायकमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको सातौँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नेपाल उपलब्धिको सम्भावना नै सम्भावना बोकेको देश भएकाले आशा गर्ने ठाउँ धेरै रहेको बताएका छन् ।

नेता कार्कीले शहीद जोन्छेको हरेक सपना साकार पार्दै अघि बढ्नका लागि पार्टी र सरकार लागि पर्नु पर्ने औंल्याएका छन् । सोहि कार्यक्रममा बोल्दै अर्का वत्ता जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले शहीदको सपनालाई कुनै पनि पार्टीले बिर्सन नहुनेमा जोड दिएका छन् ।

त्यस्तै काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले तत्कालीन माओवादीले जोन्छेलाई किन गोली हाने त्यसको जवाफ दिनुपर्ने जानकारी गराएका छन् । कार्यक्रममा मेधा माविका कक्षा १० की शिक्षा दुवाललाई नगद रु १० हजार, कक्षा ९ की रेश्मा शिवभक्तिलाई रु नौ हजार तथा कक्षा ८ की सगुन श्रेष्ठ र आदर्श मावि कक्षा ८ की समिर चौधरीलाई जनही रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

त्यसैगरी प्रतिष्ठानले आयोजना गरेको नेपालको आर्थिक समृद्धिमा पर्यटन शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने माउण्ट भ्यू स्कूलका विद्यार्थी अङ्कित सङ्ग्रौलालाई रु १० हजार पुरस्कार शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा दोस्रो हुने मेधा माविकी सुष्मा झालाई रु सात हजार, तेस्रो हुने एभरेष्ट स्कूलकी आर्या प्रसाईंलाई रु पाँच हजार र सान्त्वना प्राप्त वाल्मीकेश्वर माविकी प्रतिभा तिमिल्सिना र आदर्श माविका एलिना खत्रीलाई जनही रु तीन हजार नगद पुरस्कारसहित पदक, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

शहीद जोन्छेकी पत्नी एवं प्रदेश नं ३ का प्रदेश सदस्य तथा प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।