कभर स्टोरी

जागरण अभियानले पार्टीमा नवीन ऊर्जा अभिवृद्धि भएको छ : सभापति देउवा

By Bala Adhikari

June 10, 2019

काठमाडौं, जेठ २७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चालन गरेको पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ले पार्टीमा नवीन ऊर्जा अभिवृद्धि भएको बताएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार जारी गरेको विज्ञप्तिमा वैशाख २५ गते शुरु भई यही जेठ २५ गते सम्पन्न भएको राष्ट्रिय जागरण अभियानले पार्टीका नेता तथा कार्यकर्तामा नवीन ऊर्जा अभिवृद्धि भई भव्य रुपमा सफल र सम्पन्न भएको जनाएका छन् । सभापति देउवाले अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधिविरुद्ध थप जागरण बढाउँदै एकताबद्ध ढङ्गले अगाडि बढ्न समेत सबैलाई अपिल गरेका छन् ।

कांग्रेसले लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गरी संघीयताको सफल कार्यान्वयन गर्न÷गराउन दबाबको प्रभावकारी भूमिका निर्वाह गर्ने बताइएको छ । साथै कांग्रेसको अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सम्मान प्रकट गर्दै गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्ने केन्द्रीय प्रतिनिधिको क्रियाशीलताको सभापति देउवाले प्रशंसा गरेका छन् ।

जागरण अभियानका क्रममा कुशल नेतृत्व गर्ने सबै जिल्ला सभापति र जिल्ला समिति, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका सबैलाई कांग्रेसले बधाई ज्ञापन गरेको छ । कांग्रेसले जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर पार्टीलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढाउने सङ्कल्प गरेको छ ।