कभर स्टोरी

बिपीवादलाई नजिकबाट नियाल्न देशभर यात्रा गरिने

By Bala Adhikari

June 10, 2019

काठमाडौं, जेठ २७ । बिपीवादलाई नजिकबाट नियाल्नका लागि देशभर यात्रा गरिने भएको छ । बिपी सङ्ग्रहालय समितिले बिपीवादको खोजी गर्दै यहि जेठ ३० देखि ३२ सम्म सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा गर्ने तय गरेको हो । लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन बिपीवादको खोजी गर्न दोस्रो चरणको यात्रा गर्न लागिएको समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेलले जानकारी गराएका छन् ।

यात्राका क्रममा सङ्ग्रहालयको माटो चाँदीको कचौरा एवं सिसाको फ्रेममा राखी लगिने भएको छ । यसैगरी सङ्ग्रहालयका तस्वीर पनि साथै लैजाने कार्यक्रम तय भएको छ । यसअघि पहिलो चरणमा फागुन ११ गते कोइरालाहरुको उद्गमस्थल दुम्जाबाट यात्रा प्रारम्भ भएको थियो । दुई वर्षससम्म देशका ७७ वटै जिल्लामा बिपीवादको खोजी गरी यात्रा गरिने छ ।

तेस्रो चरणमा काङ्ग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहनगर नेपालगञ्जबाट पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लासम्म यात्रा गरिने सङ्ग्रहालय समितिले जानकारी गराएको छ । चौंथो चरणमा शहीदहरु दुर्गानन्द झा, सरोज कोइराला, रामनारायण मिश्र, काङ्ग्रेस नेता महेन्द्रनारायण निधि, आजीवन कारावासको सजाय भोगेका अरविन्द ठाकुर, नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवको जन्मभूमि सांस्कृतिक शहर जनकपुरमा बिपीवादको खोजी गरिने कार्यक्रम तय गरिएको छ ।

यात्राका क्रममा बिपी विचारलाई जनताको तहसम्म लैजाने कार्यक्रम रहेको छ । पाँचौँ चरणमा प्रजातन्त्र पुनःस्थापनाका लागि प्राण आहूति दिनुहुने शहीद राम, लक्ष्मण, लीला, ठगी आदिको भूमि ओखलढुङ्गा, भीमनारायण श्रेष्ठको भूमि धनकुटालगायत स्थानमा यात्रा गरिने समेत जानकारी गराइएको छ ।

अध्यक्ष पोखरेलले देशभरको यात्रा सकेपछि समापन कार्यक्रम सर्वोच्च नेता गणेशमान सिंहको निवास चाक्सीबारीमा गरिने तय भएको बताएका छन् । विसं २०१७ पुस १ गतेको घटनापछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो ।