काठमाडौं, जेठ २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इञ्चार्ज तथा प्रक्ष्ट वक्ता भीम रावलले प्रेसलाई अङ्कुश लगाउन खोज्नु अत्यन्त निन्दनीए भएको बताएका छन् । सोमबार बैतडीमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेता रावलले प्रेसलाई स्वतन्त्ररूपमा काम गर्ने वातावरण सरकारले बनाइदिनु पर्ने औल्याएका छन् ।
उनले प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने बताउदै उनले भने, प्रेस राष्ट्रको चौथो अङ्ग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई लक्षित गर्दै उनले अझ स्पष्ट पार्दै भने, “पत्रकारले स्वयं जिम्मेवार बन्नुपर्छ, पे्रसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्नुहुँदैन ।” पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता रावलले बजेटमा सुदूरपश्चिम प्रदेश सधैँ ठगिने गरेको जुनसुकै दलको सरकारले वजेट ल्याए पनि सो क्षेत्रलाई वेवास्ता नै गर्ने गरेको आरोप लगाएका छन् ।
सरकारले सुदूरपश्चिम प्रदेशलाई दिने बजेट गत वर्षभन्दा घटेर आएको उनको भनाई छ । उनले समाजवादको बाटोमा जान बजेट बढाउनु पर्ने औंल्याएका छन् । उनले सुदूरपश्चिम प्रदेश कृषि तथा पर्यटनमा धनी प्रदेश भए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा कहि कतैबाट पनि परिवर्तन आउन नसकेको स्पष्ट पारेका छन् । उनले भने, पश्चिमसेतीलाई पनि अघि बढाउने हो भने सुदूरपश्चिमको मात्रै नभएर समग्र मुलुक बन्छ ।
उनले निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने बताउँदै पछिल्लो समय सरकार र जनताबीच रिक्तता बढेको प्रस्ट्याएका छन् । आफ्नो पार्टीले पनि गलत कदम चाल्यो, गलत काम ग¥यो भने खबरदारी गर्नुपर्ने औल्याउँदै उनले पार्टी एकीकरणको लामो समय वितिसक्दा पनि जिल्ला तथा स्थानीय तहमा एकीकरण नहुनुले पार्टीले ठूलो क्षति बेहोर्नुपरेको जानकारी गराएका छन् ।
नेता रावलले सिके राउतले अझै पृथकतावादी समूह नत्यागेकाले तत्कालै विश्वास गर्न नहुने र उनलाई विश्वास गरि हाल्न नहुने सुझाव दिएका छन् । सरकारले राउतलाई गरेको विस्वास कुनै पनि अवस्थामा तोडिन सक्ने बताउँदै उनले भने सिके राउत जस्ता मान्छेको विस्वास गरि हाल्नु हुदैन थियो ।