कभर स्टोरी

जानकारी नदिइ हाइड्रोपावरले ड्याम खोल्दा एक युवती बेपत्ता

By Bala Adhikari

June 13, 2019

धादिङ, जेष्ठ ३० । आँखुखोलाले बगाएर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती बेपत्ता भएकी छिन् ।

दिउँसो खोलामा लुगा धुन र नुहाउन भनी गएकी युवतीलाई खोलाले बगाएको हो । काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत युवती दाङ जिल्ला घर भएकी थिइन् । उनी अध्ययनकै सिलसिलामा ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी हुन् ।

विनाजानकारी आँखुखोला हाइड्रोपावरले ड्याम खोलेपछि खोलामा रहेकी युवतीलाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानाकारी गराएका छन् ।

स्थानीयवासी राजन शाहले जानकारी नदिइ ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको बताएका छन् । स्थानीयवासीले पाँच सय बढी कामदार लगाएर गणेशस्थान र खहरे नजिकै वारिपारि गर्न बनाएको काठेपुल पनि आँखुखोला हाइड्रोपावरले ड्याम खोलिदिँदा बगाउने र स्थानीयवासीलाई समस्या पर्ने उनले जिकिर गरे । जिल्ला प्रहरीले बेपत्ता युवतीको खोजीकार्य जारी रहेको जानकारी गराएको छ ।

स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले बताएका छन् ।