कभर स्टोरी

उच्चशिक्षामा देखिएको अराजकता नियन्त्रण गरिने

By Bala Adhikari

June 24, 2019

काठमाडौं, असार ९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले उच्चशिक्षामा देखिएको अराजकता नियन्त्रणका लागि आवश्यक ऐन बनाउने काम भइरहेको जानकारी गराउँदै उच्चशिक्षामा अराजकता रहेको स्वीकार गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उने उच्चशिक्षामा अराजकता रहेको बताएका हुन् ।

उनले विद्यालय शिक्षासँग सम्बन्धित र उच्च शिक्षासँग सम्बन्धित ऐन निर्माणको चरणमा मन्त्रालय रहेको पनि उनले स्पष्ट पारेका थिए । चिकित्सा शिक्षा क्षेत्र सुधारको सम्बन्धमा भएका पहलबारे जानकारी गराउँदै उनले चिकित्सा शिक्षा ऐनको आधारमा आयोग गठन गर्ने क्रममा उपाध्यक्ष छनौटको लागि सर्च कमिटी गठन भएको र यो बीचमा प्रधानमन्त्रीको अध्यक्षतामा पदेन सदस्यहरु रहेर केही निर्णय गरिएको बताएका छन् ।

सांसदहरुले चिकित्सा शिक्षा र उच्च शिक्षामा देखिएको विकृति विसंगतीबारेमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि भएको पहल बारे जिज्ञासा राखेका थिए । उनले भने, “उच्चशिक्षामा अराजकता पनि छ । विश्वविद्यालयका विविध प्रकारका समस्या छन् । हिजोको क्षेत्रगत र आजको प्रादेशिक ढंगले रहेका विश्वविद्यालयहरुका काठमाडांैमा सम्पर्क कार्यालयहरु थिए । तिनीहरु बन्द गरिए ।

सबै विश्वविद्यालयलाई एउटा प्रणालीतर्फ लैजानका लागि काम गरिरहेका छौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको अध्यक्षतामा कार्यदल बनेको र त्यसले आयोगको संगठन संरचना, नियमावली, साझा प्रवेश परीक्षा र शुल्क सम्बन्धी अलग अलग कार्यदलले कामहरु अगाडि बढाइरहेको भन्दै उनले ती कार्यदलका प्रतिवेदनहरु आयोगको बैठकमा छिट्टै प्रस्तुत हुने जानकारी गराएका थिए । ऐनले व्यवस्था गरे अनुसारको आयोगलाई पूर्णता दिने र व्यवस्थित गर्ने दिशामा मन्त्रालय अघि बढेको पनि स्पष्ट पारेका छन् ।