काठमाडौं, असार २३ । नेपालगञ्जको बाहिरी चक्रपथ करीब पाँच वर्षअघि ‘सर्भे’ गरिएको अहिले भने अलपत्र अवस्थामा रहेको छ । सर्भेअनुसार २३ दशमलव ८६ किलोमिटर लम्बाइ र १६ मिटर चौडाइमध्ये सात मिटर कालोपत्र रहने गरी सर्भे भएको थियो । अहिले चक्रपथ निर्माण अन्योलमै छ ।
सरकारले चक्रपथ निर्माणका लागि वर्षेनी बजेट विनियोजन गरे पनि बजेटको ठूलो भाग भने ‘फ्रिज’ हुने गरेको छ । सरकारले रु दुई करोड २० लाख शुरुमै विनियोजन गरेको थियो । रु एक करोड नौ लाख २७ हजार ४०० मा ठेक्का भएर ८२३ मिटर चौलिका चोक नजिक कालोपत्र भएको छ ।
रु एक करोड तीन लाख ८३ हजार भुक्तानीसमेत निर्माण व्यवसायीले लिइसकेको छ । प्रत्येक वर्ष चक्रपथ निर्माण गर्न सडक डिभिजनले करोडौँ बजेट छुट्याउँदै आए पनि काम भने अघि बढेको छैन । गत आर्थिक वर्षमा मात्रै रु सात करोड ४५ लाख बजेट चक्रपथ निर्माण गर्न विनियोजन गरिएको थियो । तर, चक्रपथको काम नहुँदा रकमान्तर गरी पुल निर्माणमा खर्च गरिएको छ ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना मुख्य बाधक देखिएको र अन्यत्र क्षेत्रबाट चक्रपथ निर्माण गर्न जग्गाको मुआब्जा दिन नसकिने स्थिति देखिएपछि चक्रपथ योजना करीब अन्त्य भएको प्रमुख डा राणाले बताउँदै आउनुभएको छ । चक्रपथ सिक्टा आयोजनाको नहरलाई आधार बनाएर सर्भे गरिएको थियो । चक्रपथ निर्माणले सिक्टाको नहर निर्माण सम्पन्न नभएकाले गति लिन सकेको छैन ।