आर्थिक

तरकारीको मूल्य बढेसँगै आज कालीमाटी र बल्खुमा अनुगमन टोली

By Bala Adhikari

July 19, 2019

काठमाडौं, साउन ३ । काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएपछि कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन सरकारले गर्न लगाएका छन् । आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा गरिएको हो । विभागका महानिर्देशक योगेन्द्र गौचनले अनुगमनका लागि दुई टोली खटिएको बताएका छन् ।

अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएकाले राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित तरकारीको आपूर्ति भइरहे पनि अनुगमन गरिएको उनले जानकारी गराएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण गत असार अन्तिम साताको तरकारी आपूर्तिमा केही समस्या देखिएको थियो । विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा फर्किसकेको छ ।

कालीमाटी र बल्खुस्थित व्यवसायीले बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेका थिए । कृत्रिम मूल्यवृद्धि गर्ने व्यापारी, व्यवसायीमाथि सरकारले कारवाही अझै गर्न सकेको छैन । गत वर्ष पनि सरकारले कालीमाटीस्थित तरकारी बजारमा अनुगमन गरे पनि कारवाही भने गर्न सकेको थिएन । विभागका महानिर्देशक गौचनले अनुगमनमा खटिएका निरीक्षण अधिकृतले तरकारी खरीद गरेको बिलबिजक नदेखाउने व्यापारीमाथि तत्काल कारवाही गर्ने समेत बताए ।

बिचौलिया, ढुवानीकर्ता तथा किसानबाट खरीद गरेर ल्याएको तरकारी कतिमा बिक्री भयो भन्ने थाहा नहुँदासम्म उपभोक्ता ठगिइरहने उनको भनाइ छ । ठगीबाट उपभोक्तालाई जोगाउन कालीमाटी र बल्खुका तरकारी पसलमै पुगेर अनुगमन गर्ने कार्य भइरहेको र खरीद बिलबिजक लुकाउने व्यापारीमाथि कारवाही समेत गरिने छ ।”

खरदि गरिएको बिलबिजक, भरपाई तथा ‘रिसिप्ट’ देखाउन नसक्ने व्यापारीमाथि तत्काल जरिवाना गरिने उनले जिकिर गरे । अनुगमनलाई अभियानका रूपमै सञ्चालन गरिने तयारी भई रहेको छ । अनुगमन टोलीले बिहान ८ बजेसम्म बल्खुस्थित तरकारी बजारका सात र कालीमाटीस्थित तरकारी बजारका छ पसलमाथि कारवाहीस्वरुप जरिवाना गरेको विभागले बताएको छ ।

विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन भइरहेको छ । विभागले अनुगमन टोलीमा कृषि विभागका प्रतिनिधि र केही सुरक्षाकर्मी सहभागी रहेको स्पष्ट पारेको छ ।