काठमाडौं, साउन ३ । किसानलाई आयआर्जनमा जोड दिनका निम्ति जिल्लाको दिपायल सिलगढी नगरपालिकाले उन्नतजातका गाई र भैँसी वितरण गरेको छ । दूधमा आत्मनिर्भर बनाउन र किसानको आयस्तर वृद्धि होस् भन्ने उद्देश्यका साथ पूरै नगरपालिकालाई पूर्ण अनुदानमा उन्नतजातका गाई र भँैसी वितरण गरिएको नगरपालिकाप्रमुख मञ्जु मलासीले बताएकी छन् ।
नगरपालिकाका पशु सेवा प्राविधिक डिलबहादुर साउदले नगरपालिकाले वडा नं ५, ६ र ७ का १३ किसानलाई जर्सी, होलिस्टिन र रेडसिन्धी जातका गाई वितरण गरेकोे जानकारी दिएका छन् । आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रमअनुसार जम्मा २० किसानलाई उन्नत गाई वितरण गर्ने योजना रहेकामा वडा नं ४ का सात किसानलाई केही दिनभित्रै गाई वितरण गरिने बताइएको छ ।
पशु सेवा प्राविधिक साउदले नगरपालिकाको वडा नं १ शिरखोलीसैनका आठ किसानलाई मुर्राक्रस जातका भैँसी पनि वितरण गरिएको समेत जिकिर गरे । नगरपालिकाले सार्वजनिक सूचनामार्फत किसानबाट फाराम भर्न लगाई ती फारामउपर स्थलगत अनुगमन गरी किसान छनोट गरिएको बताएको छ ।
नगरपालिकाको पशु सेवा शाखाले ढुवानीसहित रु १५ लाखमा २० गाई र रु सात लाख ६० हजारमा भैँसी खरीद गरी किसानलाई वितरण गरिएको स्पष्ट पारेको छ । साम्भवी एग्रो प्रोडक्सन प्रालि दिपायलका सञ्चालक रवि श्रेष्ठले विगत पाँच वर्षदेखि व्यावसायिकरूपमा गाईपालन गर्दै आएको र नगरपालिकाले थप दुई उन्नतजातका गाई उपलब्ध गराएको बताएका छन् । उनले विगत पाँच वर्षदेखि उन्नतजातका गाईपालन गर्दै आएका थिएँ, यो पटक नगरपालिकाले थप गाई दिएपछि उनको फार्ममा सहुलियत भएको स्पष्ट पारेका छन् ।