कभर स्टोरी

‘नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजबाट प्रेरणा लिनुपर्ने’

By Bala Adhikari

July 22, 2019

काठमाडौं, साउन ६ । बिपीको सम्मान गर्ने हो भने पार्टी्भित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बताए । मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उनको पार्टी काङ्ग्रेसभित्रै आज मेलमिलाप छैन ।

उनले नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्ने समेत जिकिर गरे । नेपाली काङ्ग्रेस तनहुँले जननायक बिपी कोइरालाको ३७ औँ स्मृति दिवसका अवसरमा व्यास नगरपालिका–५ मा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले शोषित पीडित जनताको मात्र नभई समग्र राष्ट्रको हितका लागि पनि बिपी कोइरालाको विचार आजको दिनमा पनि सान्दर्भिक रहेको प्रष्ट्याएका छन् । दुई तिहाइ बुहमतको सरकारलाई नेता भण्डारीले असफल हुने छुट नरहेको भन्दै वर्तमान सरकार असफल भए लोकतन्त्रमाथि प्रहार हुने बताएका छन् । जनअपेक्षाअनुसार काम गर्दै सरकारले जानुपर्ने नेता भण्डारीको भनाइ रहेको थियो ।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्रका निम्ति सङ्घर्ष गर्ने बिपीको विचार आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देलले जानकारी गराएका छन् । राष्ट्रियता संरक्षणमा बिपीको भूमिका अतुलनीय रहेकाले उनको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा सिग्देलले जोड दिएका हुन् ।

मुलुकको स्वार्थका निम्ति सधैँ लागिरहेका बिपीको विचार आज पनि सान्दर्भिक रहेको नेपाली काङ्ग्रेस तनहुँका पूर्वसभापति धु्रव वाग्लेले धारणा व्यक्त गरेका थिए । बिपीबाट पाठ सिकेर अहिलेका राजनीतिक दल अघि बढ्नुपर्ने नेपाली काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले बताएका छन् । उक्त अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । काङ्ग्रेस तनहुँका सचिव विश्व बास्तोलाले वडा कार्यालयसँगको समन्वय र सहकार्यमा बिरुवाको संरक्षण गरिने जानकारी दिएका छन् ।