कभर स्टोरी

चन्दको प्रमुख आतिथ्यतामा भानुजयन्तीमा हुने

By Bala Adhikari

July 25, 2019

काठमाडौं, साउन ९ । यस वर्षको २०६ औँ भानुजयन्ती पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा नेपाली जनकल्याण समिति कोलकाताले आयोजना गर्दैछ ।

सन् १९९७ देखि कोलकातामा पनि भानुजयन्ती मनाउन थालिएको हो । कोलकाताको अलिपुर रोडलाई सन् २००७ देखि ‘भानुभक्त सरणी’ नामकरण समेत गरिएको छ ।

कोलकाता हावडा मैदानमा हुने कार्यक्रममा यही साउन १२ गते कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल, संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला, प्राज्ञ प्रा डा हेमनाथ पौडेल र डा देवी नेपाल, धर्मराज बराल, डा डिपी अर्याल, रामप्रसाद पन्त, ऋषभदेव घिमिरे, गोपीकृष्ण ढुङ्गाना, कुमार मगर, प्रदीप खनाल, पुष्पराज पराजुली, सहदेव कोइराला पनि सहभागिता रहने छ । प्राज्ञ प्रा डा पौडेलले सो कार्यक्रममा भानुभक्तको कवित्वबारे गोष्ठीपत्र प्रस्तुत गर्नेछन् भने प्राज्ञ डा नेपालले कविता कार्यशाला चलाउने छन् ।

कार्यक्रममा भारत पश्चिम बङ्गाल राज्यका सहकारीमन्त्री अरुप रायको आतिथ्यता पनि रहने कविता वाचन, विविध नेपाली सांस्कृतिक कार्यक्रममा साथै साहित्यिक पत्रिका ‘बिहानी’ पत्रिकाको २० औँ अङ्क पनि विमोचन हुने समितिका सभापति बद्रीविक्रम थापाले बताए ।