चिप्लेढुङगा, साउन ९ । सामाजिक विकासमन्त्री नरदेवी पुनले सीपयुक्त दक्ष जनशक्तिबाट मात्रै समृद्धि हासिल हुने बताएका छन् । मन्त्री पुनले महिला चेम्बर अफ कमर्स कास्की शाखाको आयोजना र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित दुईमहिने सिलाइकटाइ तालीम समापनमा सीपमा विविधता ल्याएर मुलुकलाई समृद्ध बनाउन दक्ष जनशक्तिको खाँचो जिकिर गरे ।
क्षणिक सन्तुष्टिका लागि मात्रभन्दा व्यावसायिक बन्ने सोचका साथ तालीम लिनुपर्ने गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले बताइन् ।
पोखरा महानगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र बराल, १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष प्रेम भुजेल लगायतले एकै व्यक्तिले धेरै तालीम लिने तर त्यसको प्रयोग भने कम देखिने गरको बताउँदै राज्यको रकम सदुपयोग गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् ।
अझै पनि सिलाइकटाइमा दक्ष जनशक्तिको अभावले भारतबाट कामदार ल्याउनुपर्ने अवस्था रहेकाले त्यसलाई न्यूनीकरण गर्न तालीम आवश्यक रहेको महिला चेम्बर अफ कमर्सका अध्यक्ष गीता तिवारीले जानकारी गराइन् ।