कभर स्टोरी

जबर्जस्ती करणीमा घटना यस वर्ष मात्रै १८७३ मुद्दा दर्ता

By Bala Adhikari

August 02, 2019

काठमाडौं, साउन १७ । मुलुकभर जबर्जस्ती करणीका घटना पछिल्लो केही समय यता अझै बढेका पाइएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो ।

आव २०७४÷७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५÷७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३÷७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताएका छन् ।

कुनै पनि महिलाको इच्छाबेगर जबर्जस्तीरूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबर्जस्ती करणी भनिन्छ । प्रहरी प्रवक्ता पोखरेलले भने, आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको पाइएको छ ।

उनले थपे, हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ । उनले सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेकोे जानकारी गराएका छन् ।