कभर स्टोरी

दुई चालकको व्यवस्था गर्दै विभाग

By Bala Adhikari

August 13, 2019

काठमाडौं, साउन २८ । लामो दूरीमा चल्ने सवारीसाधनको अत्याधिक मात्रामा दुर्घटना बृद्धि भएसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइएमा तत्काल कारवाही गर्ने जानकारी गराएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक छ÷छ घण्टामा पालैपालो सवारी चलाउनुपर्ने व्यवस्था गरिएको छ । लामो दूरीका सवारी चलाउनका लागि अहिलेसम्म कुनै यातायात कम्पनिले पनि दुई जना चालक राखेको पाइन्दैन । जे जस्तो भए पनि एउटै चालकले काम चल्ने व्यावसायीको ठहर पाइन्छ ।

विभागका अनुसार एउटै चालकले लामो दूरीमा सवारी चलाउँदा थकानका कारण सवारी दुर्घटनाको दर बढेको अनुमान छ । विभागले लामो दूरीमा चल्ने यातायातको साधनमा दुई चालकको व्यवस्था गर्न सम्बन्धित सवारी धनीलाईसमेत निर्देशन दिएको छ । त्यस्तै विभागले मध्यम दूरीका चल्ने सवारीसाधनले पनि प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्थालाई पनि कडाइ गर्ने बताएको छ ।

ऐनमा चार घण्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्था गरिएको छ । दुर्घटना न्यूनीकरण तथा यातयात व्यवस्थालाई भरपर्दो बनाउने पर्याप्त कानून भए पनि कार्यान्वयन फितलो हुँदा सार्वजनिक सवारीमा यात्रा गर्ने नागरिकले अकालमा ज्यान गुमाउँदै आएका छन् ।

विभागले सार्वजनिक सवारीलाई सुरक्षित र व्यवस्थित बनाउन दिइएको निर्देशन कार्यान्वयन नगरेको पाइए सम्बन्धित यातायात धनीविरुद्ध कारवाही गरिने चेतावनीसमेत दिएको छ । विशेषतः लामो दूरी तथा रात्रि सेवाका सवारी चालक यात्राकै क्रममा निदाउने, थकान तथा तोकिएको समयमै गन्तव्यमा पुग्नुपर्ने मानसिक तनावका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको ठहर छ ।

गत शुक्रबारमात्रै सर्लाहीको मलङ्गवाबाट काठमाडाँै आउँदै गरेको रात्रि बस पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा त्रिशूली नदीमा खस्दा ११ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा परी एक बालकसहित २० बेपत्ता भएका थिए ।