कभर स्टोरी

महिला संघले दर खान लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई दिने

By Bala Adhikari

August 16, 2017

काठमाडौँ, साउन ३२ । विगत केही दिन यता परेको अविरल वर्षाको कारण आएको बाढीले त्यहाँका मानिसहरुको जनजीवन तहसनहस बनाई दिएको छ । बाढी पहिरोबाट प्रभावित क्षेत्रका मानिसहरुका लागि सहयोगी हातहरु पनि उत्तिकै जुटी नै रहेका छन् ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले हरेक बर्ष मनाउँदै आएको तीजको दर खाने कार्यक्रमलाई यसपालि स्थगन गरी उक्त कार्यक्रम मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको संघको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने निर्णय गरेको हो । महिला संघले भदौ २ गते सम्पूर्ण महिला दिदीबहिनीलाई दर खुवाउने कार्यक्रम तय गरेको थियो ।

संघका अध्यक्ष उमा रेग्मीले बाढीपहिरोले तराई क्षेत्र डुबानमा परेको र हजारौँ मानिस विस्थापित हुन पुगेकाले संघले तीजका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जानकारी दिइन् । संघले आफ्ना सम्पूर्ण कार्यकर्तालाई बाढीपीडितको उद्धार गरी उचित राहतको व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ ।