काठमाडौं, भदौ २ । नेपालको सफलतामा आम नेपाली नागरिकको मात्र हात नहुने अन्य देशका नागरिकको साथ सहयोग र सद्भावका कारण पनि देशको समृद्धि सम्भव हुने बताइएको छ । केही समययता नेपाल र उसका निकटका छिमेकी तथा बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्नका लागि सरकारले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरेको छ ।
केही दिनअघि प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक एक सांसदले टिप्पणी गरेकोप्रति असहमति जनाउँदै सरकारले सबैलाई त्यस्तो आग्रह गरेको हो । नेपालले कहिल्यै कल्पना नगरेको विषयमा गरिएको टिप्पणी सरकारलाई अस्वीकार्य रहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । उनले परराष्ट्र मन्त्रालयमा संवाददातामाझ सो कुराको जानकारी गराएका थिए ।
उनले समितिमा बोलिएको भनिएको विषयको सत्यताप्रति आफूलाई सन्देह रहेको समेत स्पष्ट पारेका छन् । समितिको बैठकमा नेपाली कांग्रेसका सांसदले नेपाललाई पनि सिक्किम बनाउने अवसरको खोजीमा भारत रहेको भनेर दिएको अभिव्यक्तिका सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासा साम्य पार्दै मन्त्री ज्ञवालीले त्यो स्तरको संसद् सदस्यबाट त्यति हलुका टिप्पणी भयो होला भन्ने आफूलाई नलागेको समेत प्रष्ट पारेका छन् । त्यस्तै कश्मिरमा विकसित पछिल्लो घटनाक्रमलाई नजीकबाट नियालिरहेको उनको भनाई छ ।
मन्त्री ज्ञवालीले छिमेकमा सधैँ शान्ति र स्थायित्व होस् भन्ने नेपालले चाहेको समेत प्रष्ट पारेका थिए । नेपाल क्षेत्रीय शान्तिका पक्षमा रहेको बताउँदै उनले भने, सबै समस्याको शान्तिपूर्ण समाधान वार्ता र संवादका माध्यमबाट खोजिनुपर्छ । मन्त्री ज्ञवालीले कश्मिरमा रहेका नेपालीको सुरक्षाप्रति सरकार संवेदनशील रहेको र नयाँदिल्लीस्थित दूतावासले भारतका अधिकारीसँग निरन्तर समन्वय र सम्पर्कमा रहेर काम गरिरहेको जानकारी गराएका छन् ।
मन्त्री ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षका नाताले यसलाई गति दिन संयुक्त राष्ट्र संघको ७४औँ महासभाका क्रममा सदस्य देशका विदेशमन्त्रीसँग आगामी महिना न्यूयोर्कमा अनौपचारिक छलफल हुने जानकारी गराएका छन् ।