नर हौ तिमी निराश नभै आशाको त्यो दीप बाल मनभित्रका काला, मैला, दुषित भाव सबै फाल । कहाँ हिँड्छौ भौतारिई आफैँभित्र फर्कि हेर कस्तुरी छ तिमीभित्रै नफाल है त्यसलाई खेर ।
शक्ति छ है दुई पाउमा संसारलाई बोक्न सक्ने आँधी, हुरी जे आए नि ती करले रोक्न सक्ने । हृदय छ विशाल तिम्रो अनन्त नै अटाउने शक्तिशाली मस्तिष्क छ सबै काम खटाउने ।
मनै शत्रु मनै मित्र त्यसलाई तिमी पहिचान गर मनको वेगलाई रोक्न सके जित्छौ तिम्ले यो संसार । परमशक्ति तिमीमाथि मनको आँखा खोली हेर सारा विश्व तिम्रो नै हो सबैतिर प्रकाश छर ।
जन्म लियौ मनुष्यको व्यर्थै गर्छौ चिन्ता किन ? अमूल्य छ जीवन तिम्रो खुसी मनाऊ हरेक क्षण । तिमीमाथि अस्तित्वले सारा शक्ति खन्याको छ सबैभन्दा शक्तिशाली दिमाग तिम्रो बनाको छ ।
जतिसक्दो गर तिमी यसको उपयोग सुस्ताउने बेला हैन उठ अब जाग । संसाररुपी बगैँचामा मीठा फल रोप जस्तो रोप्छौ त्यस्तै पाउछौ यही तिम्ले सोच ।
तिमी सबको भलो सोच तिम्लाई सोच्ने संसार छ नि निर्माताले पठाएको यो संसारमा तिम्लाई छानी । अस्ताउने हैन तिमी उदाउदो घाम बन प्रयोजनले आयौ तिमी अब महान् काम बन ।
महालक्ष्मी आचार्य मनोसामाजिक परामर्शदाता