कभर स्टोरी

काष्ठमण्डप पुनःनिर्माणको काम आधा सकियो

By Bala Adhikari

September 16, 2019

काठमाडौं, भदौ २९ । काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको जनाइएको छ । लक्ष्यअनुरुपनै काम भइरहेकाले तोकिएकै समयमा सक्ने योजना सहित काम तब्रि गतिमा अघि बढेको बताइएको छ । बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको जानकारी गराएका छन् । प्रयोग गरिएका चारवटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ । निर्माणमा अहिले दैनिक ३० जना कामदारले नियमितरुपमा काम गरिरहेको उनको भनाई छ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो ।

गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ । शुरुको समयमा निर्माणका लागि काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको कारण सहित बताइएको छ भने अब त्यो अवस्था नआउने अध्यक्ष शाक्यको भनाई छ । चार वर्षभित्र निर्माण कार्य सक्ने गरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ ।

नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख गरिएको छ । अध्यक्ष शाक्यले भने, २०७६ सालको असार मसान्तसम्ममा भुइँ तलाको कार्य सम्पन्न गर्ने लक्ष्य रहेको थियो सोहीअनुरुप काम अघि बढेको छ त्यसैले तोकिएको समयमानै काम हुनेमा कुनै आशङ्का गर्नुपदैन । यस ऐतिहासिक सम्पदा पुनःनिर्माणको लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख सहयोग प्रदान गरिसकेको छ । थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकताअनुरुप ल्याइएको छ ।