नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक गतिविधि र प्रतिक्रियावादी प्रवृत्तिप्रति सबै जना सजग रहन अनुरोध गरेका छन् । पूर्व प्रधानमन्त्री दाहालले त्यसको प्रतिकार गर्न युवा विद्यार्थीले विशेष भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा हामी छौँ, एकीकृत पार्टीले पनि त्यही भनेको छ, तर यो काम कम चुनौतीपूर्ण छैन ।
चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका छन् । व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति पनि हामीमा छ । तर सात दशक लामो संघर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै मार्न सकिन्छ कि भनेर कसैले भ्रम नपाले हुन्छ । अध्यक्ष प्रचण्डले नेता बोगटीलाई स्मरण गर्दै भने, आफूहरुले जहाँ जहाँ अप्ठ्यारो र कठिनाइ हुन्थ्यो, त्यहाँ त्यहाँ खटाउने गरिएको र उहाँले मूल नेतृत्व र नीतिलाई सधैँ सहयोग गर्नुभएको थियो ।
अध्यक्ष प्रचण्डले अराजकता मच्चाउनेहरुमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्ने सङ्कल्प गर्न आवश्यक रहेको औंल्याएका छन् । उनले अराजकतावादीविरुद्ध सजग रही प्रतिकार गर्न आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले, हत्केलाले सूर्य छेक्न खोज्न सम्भव नरहेको बताउँदै भनेका छन्, त्यो दुस्साहस मात्र हुनेछ । जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई आम जनताको भरोसा जित्न सक्ने आस्थाको केन्द्र बनाउने अभियानमा अनुशासित र जिम्मेवाररूपमा लागौँ ।
सोही कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेता बोगटी अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने त्यागी र निष्ठावान नेता भएको स्मरण गराए । उनले भने, उहाँको त्यो व्यक्तित्वलाई स्मरण गरेर आफूलाई सही मार्गमा अगाडि बढाउनु आजको कार्यभार हो । तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री बोगटी नुवाकोटका पूर्व सांसद् हुन् ।
देश र जनताका लागि अत्यन्त महत्वपूर्ण योगदान दिने क्रममा उनको २०७१ साल भदौ ३० गते निधन भएको थियो । कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेता अमीक शेरचनलगायतले बेगटीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । उक्त कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा नेताहरुले बोगटीले पार्टी प्रति पुर्याएको योगदानको सदै उच्च सम्मान गर्नुपर्ने औंलयाएका थिए ।