कभर स्टोरी

नेकपाको सचिवालय बैठक जारी अनुशासन आयोगको अध्यक्षमा बोहरा

By Bala Adhikari

November 11, 2019

काठमाडौं, कार्तिक २५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका केन्द्रीय निकाय तथा आयोगको नेतृत्व टुंगो लगाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभिन्न निकायको नेतृत्व टुंग्याएको हो ।

केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायलाई जिम्मेवारी दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् । त्यसैगरी लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई चयन गरिएको छ भने केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई जिम्मेवारी दिने निर्णय सचिवालयले गरेको जनाइएको छ ।

त्यसै गरी केन्द्रीय सल्लाहकार कमिटीमा केशव बडाल र सचिवमा नन्दकुमार थापा छनोट भएका छन् । ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई छानिएको छ । नेकपाले प्रवास संगठन भने अझै टुंग्याएको छैन । प्रवक्ता श्रेष्ठले प्रवासमा पार्टी कमिटी गठन नगर्ने निर्णय पार्टीले यसअघि नै गरिसकेको भए पनि प्रवासी नेपालीको हकहितको निम्ति कुनै न कुनै किसिमको संरचना निर्माण गर्नेगरी छलफल भइरहेको स्पष्ट पारेका छन् ।