कभर स्टोरी

आवश्यकता भए तालमेल गर्न सकिने : प्र.म.देउवा

By Bala Adhikari

August 31, 2017

धनगढी, भदौ १५ । प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा छलफल गरिरहेको प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

प्र.म. देउवाले भने–सल्लाह भइरहेको छ, आवश्यकता हेरेर तालमेल गर्न सकिन्छ । उनले महाकाली नदीमा ‘चार लेन’को पुल निर्माण हुन लागेकाले यो निर्माणपछि ७ नं प्रदेशको समग्र विकासमा सहयोग पुग्ने बताए ।

प्रधानमन्त्रीले भारतसँग भएको समझदारी अनुरुप पञ्चेश्वर परियोजनाका साथै, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण र गौरीफण्टा नाकाको स्तरोन्नति गर्ने काम कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।

७ नं प्रदेशमा प्राविधिक शिक्षाको व्यवस्थाका लागि प्राविधिक इन्स्टिच्युट खोल्ने विषयमा पनि भारतसँग सहमति भएको प्र.म. देउवाले बताएका छन् । कञ्चनपुरको महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यासका लागि प्रधानमन्त्री देउवा कञ्चनपुरतर्फ गएका छन् । चालू आर्थिक वर्षमा यो पुल निर्माणका लागि झण्डै रु एक अर्ब रकम विनियोजन गरिएको बताइएको छ ।