कभर स्टोरी

संगीतले राष्ट्रियताको जगेर्नामा गर्छ : सत्यमोहन जोशी

By Bala Adhikari

November 17, 2019

ललितपुर, मंसिर १ । वाङ्मय शताब्दीपुरुष, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रियताको जगेर्ना गर्नका लागि संगीतको अहम भुमिका रहने स्पष्ट पारेका छन् । राष्ट्रिय बौद्धिक केन्द्र, ललितपुरले शनिबार ललितपुरमा आयोजना गरेको ‘राष्ट्रियताको लागि संगीतको उपादेयता’ विषयक कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा वाङ्गमयपुरुष जोशीले संगीतको माध्यमबाट राष्ट्रियताको जगेर्ना गर्न सकिने प्रष्ट पार्दै त्यसका लागि सरकारी तहबाट पनि पर्याप्त स्थान दिनु आवश्यकता रहेको औंल्याएका छन् ।

संगीत विनाको शिक्षा अपूर्ण हुने भन्दै वाङ्मय शताब्दीपुरुष संस्कृतिविद् जोशीले भने, संगीतलाई हाम्रो शिक्षा प्रणालीमा पनि संगीतलाई तल्लो तहदेखि नै समेटेर लैजानु पर्छ । जोशीले विभिन्न जातजाति, भाषाभाषीका रितिरिवाज, कलासंस्कृति, धर्मकर्मलाई समेटेर राष्ट्रियताको भावना निर्माण गर्न संगीतको महत्त्वपूर्ण स्थान रहेको जानकारी गराएका छन् ।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलले देशले संगीतलाई चाहे अनुरुप महत्त्व दिन नसकेको वताएका छन् । युवा नेता पौडेलले संगीत एउटा सृजना भएको बताउँदै सृजना आफैमा सकरात्मक र रचनात्मक हुने जनाएका छन् । संगीतको विकासका लागि नेपालको सरकार र राजनीतिज्ञहरुले जति महत्त्व दिनुपर्ने त्यति दिन सकेको उनको भनाई छ ।

नेता पौडेलले राज्य र समाजको कुनै लगानी विना नै अहिलेसम्मका ठूलाठूला भनेर मानिएका संगीतज्ञहरु पनि आफ्नै साधनाले सफल भएको समेत स्पष्ट पारेका छन् । विद्यालयको पाठ्यपुस्तक भित्र संगीतलाई समेट्न नसकेको पक्षलाई कोट्याउँदै उनले देशले संगीतलाई महत्त्व नदिएको जस्तो देखिएको बताएका छन् ।

त्यस्तै नेपाली कांग्रेस ललितपुरका सभापति तथा पूर्व सांसद मदन बहादुर अमात्यले संगीतले हरेक मान्छेलाई प्रभाव पार्ने र त्यसले आकर्षण गर्ने वताएका छन् । गीत, संगीत फरक विधाका भए स्रोता, दर्शक पनि फक नै हुने स्पष्ट पादै सभापति अमात्यले भने, हरेक नेपाली संगीतसंग खेलिरहेको हुन्छ । संगीतको माध्यमबाट राष्ट्रियताको जगेर्ना गर्नको लागि नेतृत्व तहको ठूलो भूमिका हुन आवश्यक छ ।

भारतीय राजदुतावासका प्रथम सचिव प्राध्यापक केदरनाथ शर्माले मानिसको आधारभूत आवश्यकतासंगै संगीत पनि महत्त्वपूर्ण रहेको जनाएका छन् । मानिसको आधारभूत आवश्यकतासंगै संगीत पनि महत्त्वपूर्ण कुरा रहेको जनाउँदै उनले भने, संगीतले समाजलाई जोड्छ । एकअर्कामा माया बढाउँछ, आत्मियता वृद्धि गर्न सहयोग पुर्याउछ । ललितपुर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. २४ का अध्यक्ष दिनेश कार्कीले संगीत विनाको मानिस रस विनाको फलफूल जस्तै हुने बताउँदै संगीतको जगेर्ना गर्नु सबैको दायित्व भएको बताएका छन् । कार्कीले संगीतलाई पनि समेटेर विकासका कामहरुसंगै अगाडि वढाउनु पर्नेका जोड दिएका छन् ।

उनले यही सोच काममा परिणत गर्नका लागि ललितपुर महानगरपालिकाले गतवर्ष ६५ जना यूवाहरुलाई संगीत सिकाउन महानगरको सामाजिक विकास समितिले योगदान पुर्याएको जानकारी गराएका थिए । उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेको समेत उपस्थित रहेको थियो ।

राष्ट्रिय लोकतान्त्रिक बुद्धिजीवी संघका अध्यक्ष उदयचन्द्र मिश्र, साहित्यकार गोपाल अस्कर लगायतले राष्ट्रियताको लागि संगीतको उपादेयताका सन्दर्भमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमका सभापति एवं राष्ट्रिय बौद्धिक केन्द्र ललितपुरका अध्यक्ष पवनलाल श्रीवास्तवले संगीतले राष्ट्रको गौरवलाई उच्च राख्न वल र्पुयाउने औंल्याएका थिए ।