कभर स्टोरी

लुकिङ ग्लासको स्वरुप परिवर्तन गर्दा तिर्नु पर्ने भो जरिवाना

By Bala Adhikari

November 17, 2019

काठमाडौं, मसिंर १ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकहरुको लापर्वाहीका कारण दुर्घटना हुने गरेको बताउँदै त्यसको न्यूनिकरणका लागि हदै सम्मको प्रयास भई रहेको जनाएको छ । महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही गर्ने प्रकृयालाई तिव्रता दिएको छ ।

लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको महाशाखाले जनाएको छ । महाशाखाले सो अभियानको सुरुवात प्रारम्भ गरेको आज एक सूचना जारी गर्दै स्पष्ट पारेको छ ।

लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तरगत शनिबार पहिलो दिन ३४५ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुने जानकारी गराएका छन् । महाशाखाले अन्य मापसे जाँच तथा ट्राफिक नियम उल्लङ्घन विरुद्ध कारवाही अभियान पनि जारी राखेको जनाएको छ ।