कभर स्टोरी

घरमै पुगेर उपमेयर सत्यालद्वारा अपाङ्गता परिचयपत्र वितरण

By Bala Adhikari

November 21, 2019

पूर्णअपाङ्गता भएका तीन जनालाई ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले घरमै नागरिकता र अपाङ्गता परिचयपत्र प्रदान गरेका छन् । ललितपुर महानगरपालिका वडा नंं ५ महालक्ष्मीस्थान बस्ने जमुना ढुंगाना, सुशीला ढुंगाना र ददिराम ढुंगानालाई घरमा नै पुगेर उपमेयर सत्याल र पाण्डेयले नागरिकता र अपाङ्गता परिचयपत्र पदान गरेका हुन् ।

घरैमा परिचयपत्र प्राप्त गरेका उनीहरु निकै खुसी र हर्सित देखिन्थे । अपाङ्गता भएकै कारण निश्चित स्थानमा पुगेर कागजात लिन नसक्ने व्यक्तिहरुलाई उपमेयर सत्याल, ललितपुर महानगरकी महिला विकास प्रमुख महेश्वरी विष्ट, वडा नं. ५ का वडा सदस्य अशोक श्रेष्ठसहितको टोलीले यही कार्तिक २८ गते महालक्ष्मीस्थानस्थित उनीहरुको वसोवास गरेकै स्थानमा पुगेर अपाङ्गता परिचय पत्र उपलब्ध गराएको हो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी पाण्डेय र सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल सहितको टोलीले यही असोज १३ गते महालक्ष्मीस्थानस्थित घरमै अपाङ्गता भएका ती तीन जनालाई नागरिकता प्रमाणपत्र उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी गराएका छन् । आफैै हिडडुल गर्न नसक्ने र अरुको सहायता विना कुनै पनि काम गर्न नसक्ने उनीहरुले नागरिकता र अपाङ्गता परिचयपत्र पाएपछि राज्यले उपलब्ध गराउने सेवा सुविधा लिन पाउने भएका छन् ।

अपाङ्गता भएर घरबाट कतै जान नसक्ने अवस्थामा रहेका व्यक्तिहरुलाई खोजी खोजी नागरिकता, अपाङ्गता परिचय पत्र उपलव्ध गराउने अभियानमा लागि परेको उपमेयर सत्यालले बताएकी छिन् । अपाङ्गता परिचय पत्र प्रदान गर्दा उनीहरुको मुहार छाएको खुसीलाई नजिकबाट नियाल्दा निकै पुण्यको काम गरेको अनुभुति भएको उपमेयर सत्यालको भनाई छ ।