कभर स्टोरी

नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

By Bala Adhikari

November 21, 2019

काठमाडौं, मंसिर ५ । मन्त्रीमण्डल परिवर्तनका लागि निकै ठूलो कसरत पश्चात नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले बिहिबार बिहान शपथ लिएका हुन् । मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई को मन्त्रीलाई बाहिर निकाल्ने र को मन्त्रीलाई भित्र्याउने भन्ने कुराले निक्कै टाउको खाए पनि अन्तत बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त गर्न सफल भएका थिए । पुराना मन्त्रीहरुले अपेक्षा गरे अनुरुप काम गर्न नसकेको बताउँदै नवनियुक्त मन्त्रीहरुले राम्रो काम गर्न सक्ने अपेक्षा प्रम ओलीको रहको छ ।

नवनियुक्त मन्त्रीमा रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास, पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक र बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात रहेका छन् । त्यस्तै, मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

नयाँ मन्त्री छनोटका क्रममा खानेपानी मन्त्री विना मगरलाई प्रम ओलीले निश्कासन गर्ने जमर्को गरे पनि असफल भएको बताइएको छ । बालबालिका मन्त्रालयमा भने प्रम ओलीले महिलालाई मन्त्री बनाउन नसक्दा पुरुष बालबालिका मन्त्री हुन सफल भएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रधानन्याधीश चोलेन्द्र शमसेर राणा लगायत विशिष्ट व्यक्तिको सहभागीता थियो ।