काठमाडौं, मंसिर ५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता, प्रखर वक्ता डा. शेखर कोइराला मंसिर १४ को उपनिर्वाचनमा कांग्रेसी उम्मेदवारहरुलाई हौसला दिनका लागि आज पोखरा पुगेका छन् ।
दुई दिनका लागि कास्की पुगेका नेता कोइरालाले कास्कीका जनताले कांग्रेसलाई विश्वास गरि भारी मतले जिताउने कुरामा आफु ढुक्क रहेको जनाएका छन् । सरकारसँग निराश भएका जनताले कांग्रेसको साथ खोजेको बताउँदै नेता कोइरालाले त्यागी, इमान्दार, कर्मठ नेतालाई कांग्रेसले उम्मेदवार बनाएकाले जित नजिक रहेको दावी गरेका छन् ।
सोही क्रममा नेता कोइरालाले छिमेकीसँगको सम्बन्ध विग्रन्छ भन्ने डरले आफ्नो अस्तित्व नै समाप्त बनाएर बस्न नहुने बताएका छन् । सीमा क्षेत्रमा भारतले देखाएको लालचिलाई नेपालले कडा रुपमा जवाफ दिँदै आफ्नो भूभाग फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् ।