कभर स्टोरी

सम्पदा पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले देखायो चासो

By Bala Adhikari

November 24, 2019

काठमाडौं, मंसिर ८ । विनासकारी भूकम्पले क्षत विक्षत भएका सम्पदाहरुको पुनः निर्माण कार्य यतिका समय सम्म पनि सम्पन्न भएको पाइन्दैन । सरकार र सरोकारवालाले पुनःनिर्माण कार्यलाई पूर्णता दिनका लागि देखाएको चासो केवल चासो मै सिमित भई रहेको पाइन्छ ।

भूकम्पको कारण क्षति पुगेकोे सम्पदाको पुनःनिर्माण जति सक्दो चाँडो सम्पन्न गर्नका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ । वसन्तपुरमा भूकम्पकै कारण क्षति भएका आठ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने अन्य नौ वटा पुनःनिर्माणको अवस्थामा रहेको छ ।

शनिबार भएको एक समारोहका बिच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २१ स्थित लगनटोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको उद्घाटन गरेका छन् । यस विहारमा पनि विसं २०७२ को भूकम्पले क्षति पुगेको थियो । ठीक एक वर्षअघि पुनःनिर्माण शुरु गरिएको यस विहारको तोकिएको समयमै निर्माणकार्य सम्पन्न भएको हो । यस विहारको लागत रु ५० लाख रहेको छ ।

प्रमुख शाक्यले सत्तल, महाविहार, पाटी–पौवा, मन्दिर पुनःनिर्माण महानगरपालिकाको नीतिभित्रै रहेको जानकारी गराएका छन् । उनले कतिपय ठाउँमा गुठी संस्थान र पुरातत्व विभागले राम्रो समन्वय गर्न नसक्दा समस्या भए पनि निर्माणका लागि कामपासँग आर्थिक स्रोतको अभाव नभएको शाक्यले बताएका छन् ।

प्रमुख शाक्यले कामपाले नयाँ निर्माणलाई निषेध गरेको छ र पुनःनिर्माणलाई प्राथमिकता दिएको स्पष्ट पार्दै पुनःनिर्माण गर्नुपर्ने स्थानमा कामपा र स्थानीय गुठियारको पहलमा काम अघि बढाइएको स्पष्ट पारेका छन् ।