कभर स्टोरी

टोखा नगरपालिकाको मुख्य प्राथमिकतामा मोटरबाटो

By Bala Adhikari

November 24, 2019

काठमाडौं, मंसिर ८ । लामो समयदेखि विग्रिएको सडक मर्मत कार्य अघि बढ्दा टोखा क्षेत्रका जनतालाई केही हदसम्म भए पनि राहत मिल्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल तथा नुवाकोटको त्रिशूली जाने बाटो बिग्रँदा लाखौँ यात्रुहरुले समस्या भोग्दै आएकोमा उक्त क्षेत्रमा कालोपत्रै हुन थाले पछि अव भने सो क्षेत्रबाट आवतजावत गर्नेलाई राहत मिल्ने भएको छ ।

सामाखुशी चोक मनोहर स्कूल हुँदै ग्रिनल्याण्डसम्मको सडकखण्ड कालोपत्र गर्नेकाम तिव्र गतिमा अघि बढेको छ । ढल व्यवस्थापन र मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउँदा लामो समयदेखि अस्तव्यस्त रहेको उक्त सडक शनिबारदेखि कालोपत्र गरिएको हो । टोखा नगरपालिकाको रु एक करोड ३२ लाख खर्चमा उक्त सडक कालोपत्र गर्ने काम अघि बढाएको छ । उक्त बाटोमा सामाखुशी यातायात, शिवपुरी यातायात, नुवाकोट जाने सवारी साधन र माइक्रोबस सञ्चालन हुँदै आएको छ ।

सामाखुसी ग्रिनल्यान्डको बाटो मर्मतसम्भार हुँदा सवारी साधन सामाखुशी चोकबाट वसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रिनल्यान्ड जानुपर्ने बाध्यता रहेको थियो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर विष्ट बाटो कालोपत्र भएसँगै ट्राफिक व्यवस्थापनमा सहजता आउने बताएका छन् । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ढल निर्माण र पानीको पाइप बिच्छ्याउँदा बाटोमा समस्या आए पनि बाटो कालोपत्रसँगै टोखाका जनतालाई आवतजावतमा सहजता हुनेमा आफु विस्वस्त रहेको जनाएका छन् ।

एक हप्तासम्म सबै सडक कालोपत्र गरिसक्ने नगरपालिकाको योजना रहेको उनले सुनाए । नगरप्रमुख अधिकारी नगरपालिकाले मोटरबाटोलाई विशेष प्राथमिकता दिँदै आएको बताएका छन् । उनले सो क्षेत्रको मात्र नभएर आफ्नो नगरपालिका भित्र पर्ने अन्य बाटोहरुलाई पनि मध्यनजर गर्दै काम गरिरहेको जनाएका छन् ।