काठमाडौं, मंसिर ९ । आज बिहानैदेखि मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको भीड लागेको छ । पशुपतिलगायत शिवालयमा हिजो बिहानैदेखि महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज छर्न प्रारम्भ गरेका हुन् ।
शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गरी धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता रहेको छ ।
धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार हेमाद्रिलगायत धानको १०० गेडा छर्ने विधि भएपनि हाल कतिपयले व्यवहारमा मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने परम्परा गरेका छन् ।