कभर स्टोरी

सरकारले देशलाई निरकुंशता तर्फ धकेल्यो : नेता महत

By Bala Adhikari

November 25, 2019

दाङ, मंसिर ९ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाललाई समृद्धिको बाटोमा लैजाने खाका कांग्रेसले तयार गरेको बताउँदै देश समृद्धी तर्फ लैजाने तागत कांग्रेससँग मात्रै भएको दावी गरेका छन् । दाङको श्रीगाँउमा सोमबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा सहमहामन्त्री महतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुरा मात्रै गर्ने र कामको सिन्को समेत नभाँच्ने पार्टी भएको आरोप लगाएका छन् ।

सरकारले देशलाई निरकुंशता तर्फ धकेली रहेको बताउँदै सहमहामन्त्री महतले जनतालाई अनावश्यक सपना बढ्न मात्र सरकार सफल भएको बताएका छन् । उनले अहिलेको सरकारले दुईतिहाइको दम्भ देखाएर जनतालाई दुःख दिएको भन्दै उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार केशवराज आचार्यलाई विजयी गराएर सरकारको दम्भलाई तोड्नु पर्नेमा जोड दिएका छन् । सहमहामन्त्री महतले दुई तिहाईको सरकारले भ्रष्टाचार, हत्या, हिंसा, बलत्कार जस्ता जघन्य अपराधमा संलग्न अपराधिलाई जोगउँदै आफ्नो अमूल्य समय खर्च गरेको आरोप लगाएका छन् ।

उनले उपनिर्वाचन जिते सरकार निन्द्राबाट ब्युझिएर विकास निर्माणका गतिविधिमा लाग्ने बताएका छन् । सहमहामन्त्री महतले सरकारले नेपालका धार्मिक पहिचानमाथि प्रहार गर्न खोजेको भन्दै त्यसका विरुद्ध कांग्रेसले एकजुट भएर प्रतिकार गर्नुपर्ने अवस्था आएको बताएका छन् । सरकारले जताततै आफ्ना कार्यकर्ताको सुरक्षाका लागि फरक विचारधारका नागरिकलाई दुःख दिने गरेको उनको भनाई छ ।