भक्तपुर, भदौ १७ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पूर्ण रुपमा सफल भएको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।
नेपाल तरुण दल र सिन्धुपाल्चोकले आज भक्तपुरमा आयोजना गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सन्दर्भमा भएको छलफल तथा तरुण भेलामा बोल्दै उनले प्रधानमन्त्रीको भारत भ्रमण पूर्णरुपमा सफल भएको र विगतमा भारतमा भएको सहमति र सम्झौताको नोक्सान कम गर्न तथा देशको आर्थिक समृद्धि गर्न भ्रमण सफल भएको बताए ।
मधेशवादी दललाई नेपाली काँग्रेसले एक ढिक्का बनाएर निर्वाचनमा ल्याएको बताउँदै उनले यसले सकारात्मक ढंगले निर्वाचनको वातावरण बनेको जनाए ।
संविधानको कार्यान्वयनका लागि स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनु जरुरी रहेको भन्दै मन्त्री बस्नेतले तीनै तहको निर्वाचन सम्पन्न भएसंगै संविधान कार्यान्वयन हुने जानकारी गराए ।